काठमाडौं : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले शनिबार चौथो दिनपनि आज बिहानैबाट अनसनलाई निरन्तरता दिएका छन् । विभिन्न ७ बुँदे माग राखेर काठमाडौंको माइतीघरमा उनी आमरण अनसन बसेका हुन्।

स्थानीय उत्पादन बास र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोड र नम्स तयार गरि कानुन निर्माणको माग राखेर भट्टराई ४ दिनदेखि माइतीघरमा आमरण अनसन बसेका हुन । उनले जथाभाबी प्रकृति दोहन गर्ने क्रसर, उद्योगलाई कारबाही पहाडी जिल्लाहरूमा बाँदर आतंकबाट बसाइँसराइ दर बढेको हुँदा तत्काल नीतितल निर्णय गरि क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
अनसनमा बसेका मेयर भट्टराईले काठमाडौंबाट खोटाङ जाने बाटोमा अलपत्र परेका पुल, सडक र विकास निर्माणका काम अलपत्र पार्नेहरूलाई समेत कडा कारबाहीको माग गरेका छन् । पहिलो चरणमा वन र उद्योग मन्त्रालय र मातहतका सबै निकायले बास, काठ, राडी पाखी वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउन पनि नीतिगत निर्णयको माग गरेका छन् ।

मेयर भट्टराईको मागलाई खोटाङका अन्य पालिका र राजनीतिक दलहरूले समेत समर्थन जनाएका छन् । भट्टराईले अनसन सुरु गरेपछि वन मन्त्रालयले दिक्तेलका उपमेयर बिसन राईको टोलीसँग पहिलो चरणको वार्ता गरेपनि सहमति हुन सकेको छैन ।






